२०६६ मंसिर २२ – महिलावादी अठारवटा संस्थाहरूको सञ्जाल ‘शान्ति मालिका’ले जिल्ला र केन्द्रीय पत्रकारहरूबीच अन्तरक्रिया आयोजना गर्यो । गोर्खा, धादिङ, रूपन्देही र कपिलवस्तु जिल्लाबाट बोलाइएका बीसजना पत्रकारले राजधानीका अखबार, टीभी र एफएमका निणर्ायक
ठाउँमा बसेका पत्रकारहरूसमक्ष आफ्ना समस्याबारे छलफल गरे ।
जिल्लामा कसरी बाँच्ने र समाचार पठाउने भन्ने चुनौती रहेको दाबी स्थानीय पत्रकारहरूको थियो । त्यसरी पठाएका सामग्रीले पनि केन्द्रीय सञ्चारमाध्यममा स्थान नपाएकोमा उनीहरूले खिन्नता प्रकट गर्दै भने, तर त्यस्तै समाचार राजधानीको भए प्रथम पृष्ठमा प्रकाशित हुने थियो । जिल्लाको ठूलो समाचारले पनि एक कोलमको ठाउँ पाउन गाह्रो छ ।
केन्द्रका पत्रकार जिल्लामा गएर लेखे भने त्यही समाचार महत्त्वका साथ प्रकाशित हुन्छ । आफ्ना समाचारले स्थान पाए पो जिल्लामा काम गर्नेलाई हौसला हुन्छ । उनीहरूले आरोप लगाए, काठमाडौंमा बस्नेहरू सोच्छन्- ७४ जिल्लाका समाचार स्थानीय हुन् र राजधानीको समाचारमात्र राष्ट्रिय हो । गोर्खामा बसेर काठमाडौंको सानो समाचार पनि राष्ट्रिय समाचार भनेर पढ्नु, सुन्नु र हेर्नुपर्छ ।
सम्पादन ? सम्पादनमा गरिने हेलचेक्र्याइँले अर्थको अनर्थ हुन्छ । कहिले त समाजको शान्ति व्यवस्थामै खलल पुर्याउँछ त्यसले । जिल्लाका सामाजिक-आर्थिक गतिविधिले त ठाउँ पाउनुपर्छ । महिलाका कुरा समानुपातिक हिसाबले छापिनुपर्छ ।
मिहेनत गरेर, फिल्डमा पुगेर समाचार बनायो, तर पारिश्रमिक ? भएको खर्चजति पनि पाइँदैन । कसरी जिल्लामा काम गर्नु ? श्रमजीवी पत्रकार ऐन जिल्लामा लागू भएकै छैन । मोफसलमा नियुक्ति नदिई, कार्डमात्र दिएर काम गराइन्छ । यो महिला त हो नि भनेर महिलालाई कत्ति प्राथमिकता दिइन्न ।
केन्द्रीय तहमा काम गरिरहेका पत्रकारहरूले पनि आफ्ना कुरा राखेे- समाचार महत्त्वका आधारमा छापिने, बजाइने र देखाइने कुरा हो । त्यसैले प्रतिस्पर्धामा आउने समाचार पठाउनोस् । इसुमा लेख्नुस् ।
तर समाचार लेखेरमात्र हुँदैन, लेखाइमा गुणस्तर पनि हुनुपर्छ, प्रविधि पनि आधुनिक हुनुपर्छ । भाषा पनि
हेरिन्छ । नेताले जे बोल्यो, त्यही न्युज नभएजस्तै जे लेख्यो, त्यो समाचार हुँदैन । समाचार हुन समाचारको अङ्ग पुगेको हुनुपर्छ । न्युज फलोअप पनि हुनुपर्छ ।
पत्रकारले आफूलाई चुस्त-दुरुस्त पारिरहनुपर्छ । भाषा, शैली, विषयवस्तुबारे जानकारी र सन्दर्भ सामग्री, तथ्य-तथ्यांक, तिथिमितिबारे पत्रकारले आफूलाई जति तयार पारिरहेको हुन्छ, उति नै उसको लेखन प्रभावकारी बनेको हुन्छ र यही छापिन्छ पनि ।
छलफल, महिला संस्थाहरूको पहलमा आयोजना गरिए पनि महिला इसुतर्फ मोडिएन । पत्रकारिताका सामान्य कामकुराहरू नै बढी चर्चामा आए । हुनुपर्ने थियो, महिलाका इसु किन खासै समाचार बन्दैनन् ? तर यसतर्फ न आयोजकको ध्यान गयो नत सहभागिहरूले नै यस्ता विषयलाई छलफलमा ल्याए । के महिला इसुहरू बासीमात्र छन् ? नयाँ विषयवस्तु सकिइसके ? कि त्यतातर्फ ध्यान दिन महिला नेतृहरूलाई फुर्सद छैन ? अथवा डोनरहरूले त्यसतर्फ रूचि नै नराखेकाले ती प्राथमिकतामा नपरेका हुन् ? प्रश्न यथावत छन्, जवाफ पाइएको छैन ।
स्थानीय डाँछी गाविसकी शोभा रेग्मीले भनिन्- आधुनिक महिलाले जे भने पनि गाउँको अवस्था सुध्रनसकेको होइन । गरिबीमात्र होइन, पछौटे सोचको दलदलबाट महिलालाई उठाउन सहरका मात्र होइनन्, गाउँका महिलामा जागृति जरुरी छ । तर के गर्नु सहरी चिल्ला सडक र चम्किला होटलमा कोट-पाइन्ट लगाएर जुलुस-सभा र टीभीमा बोल्दैमा हुने रहेनछ । व्यवहार व्यवहार नै हुनेरहेछ । उनी भन्दै गइन्, सभाहरूमा सुकिला दिदी-बहिनीका कुरा सुन्यो, तर उनीहरू चिल्ला गाडीमा हुइँकिएपछि हामी त पुरानै ठाउँमा रहन्छौं । स्थिति, समय, सोच, बानीव्यहोरा सबै उही, केही फरक हुँदैन ।
उनले पत्यार नलाग्ने तर एउटा आत्मदाहको सत्यकथा बताइन् । छक्कमात्र होइन, सोचमग्न पारिन् । उनले सुनाएको घटनालाई कसले सम्बोधन गर्ने ? यस्ता समस्या गाउँमा जरा गाडेर बसेका छन्, कहाँबाट थाहा पाउन् ? कसरी जानुन् र त्यसबारे राष्ट्रिय स्तरमा बहस चलाउन् । बहस त हिजोआज टीभी, रेडियो र पत्रिकाको कोलमको नाम भएको छ ।
के शान्ति मालिका नामक महिला एनजीओ सञ्जालको नेतृत्व गर्ने दुर्गा शोबले यस्ता सवालको जवाफ दिन्छिन् ? अथवा त्यो सञ्जालका संघर्षशील नेतृहरू सर्मिला कार्की, शोभा गौतम, बबिता बस्नेत, सलोनी सिंह, दुर्गा घिमिरे, सपना मल्ल, शारदा पोखरेल, रीता थापा, अरूणा उप्रेती, सुम्निमा तुलाधर, सम्झना श्रेष्ठ, गीता प्रधान, तुलसीलता अमात्य, स्टेला तामाङ, मोहिनी महर्जन, शोभा बस्नेतहरूले दिन्छन् ? जवाफ कहीँबाट आएको छैन । किनकि यस्ता सवाल उनीहरू कहाँ पुग्ने ‘मेकानिजम’ अझै बनेको छैन । त्यसैले शोभा रेग्मी बहिनीले सुनाएको घटना कसैले कतै चर्चासम्म गरेको छैन । महिला नेतृहरू माथिमाथि, विदेश चहार्ने र होटल बजार्ने घटनाबाट माथि उठ्नसकेका देखिँदैनन् । तर गाउँमा आधा आकास धानेर बसेका महिलाका युगान्तकारी इसु त्यत्तिकै मरिरहेछन् र बासी इसुहरू सदनदेखि सडकसम्म वक्तव्यबाजीमा उछालिइरहेछन् । होइन भने यी आत्मदाह गर्ने महिला नारी आन्दोलनको चिराग बन्नुपर्ने हो ।
विद्राेहस्वरूप दर्जनौं शिष्य लिएर अरूण नदीमा हाम फालेर आत्मदाह गर्ने योगमाया महिला विद्रोहको सिम्बोल हुन् । तर त्यही स्तरमा आत्मदाह गर्ने आधुनिक योगमायाको नामसमेत बाहिर आउनसकेको छैन । उनको इहलीला समाप्त भयो । घाटमा लगेर लास खरानी बनाइसके । तर समस्या जहाँको त्ाहीँ छ । कसैले सम्बोधन गरेको छैन ।
के थियो त्यो घटना ? जहाँ भर्खर कि यौवनाले आफ्नो जीवन नै उत्सर्ग गरिन् ? किन गरिन्, उनले प्राणत्याग ? सुन्दा अचम्म लाग्छ । अहिलेको युगमा पनि यस्तो घटना हुनसक्छ र ? तर भयो र त्यसैको तोड खप्न नसकेर युवतीले जीवन उत्सर्ग गरिन् । तर उनको कुरवानीबारे अठारवटा महिला संगठनको त कुरा छाडौं, अन्य ६ सय अठारवटा महिला संघ-संस्थासमेत मौन छन् । तिनको मौनव्रत कहिले टुट्छ होला ? ताकि भौंतारिइरहेकी ती यौवनाको आत्माले कतै बस्ने ठाउँ पाउँथ्यो कि ?
घटना एक कान दुई कान मैदान भइरहेछ । ठाउँ पनि राजधानीसँगै जोडिएको जिल्ला रहेछ । जहाँ विद्वान- बुजु्रकहरूको कमी छैन । तर यो मुद्दा ती विद्वानले कम्बल ओढाएर छोप्नुपर्ने नै ठहर्याए र त्यसलाई सामसुम पारे । तर जति ढाकछोप गरे पनि समस्या छोपिनसकेको छैन । यो महिला पीडाको निकास के हो ?
‘विवाह गरेर घर भित्र्याइएकी नयाँ बुहारीले भान्छामा खाना पकाइन् । खाना खान बसे ससुरा, जेठाजु र स्वयम् लोग्ने महाशय । खाना पस्कँदा-पस्कँदै बुहारीलाई वायु छोड्नुपर्ने भयो । रोकिन् । सकिनन् । आखिर घरका मान्यजन ससुरा, जेठाजु र पति परमेश्वर खाना खाँदैछन्, वायु छाडौं, असम्भव छ । भान्छा छाडेर हिँडौं, शोभाजनक भएन । वायु नछाडौं सक्दै नसकिने भयो । केही नलागेपछि उनी आफैंले अक्किल निकालिन्- तरकारी पकाएको कराइमा डाडु बजाउने र त्यही बेला वायु उत्सर्जन गर्ने अर्थात् पाध्ने । उनले त्यसै गरिन् ।’
तर जेठाजुले बुहारीको चलाखी थाहा पाए । उनले खाना खाइरहँदा पनि त्यो कुरा मनमा राख्न सकेनन् र प्रश्नवाचक खसखस पोखिहाले- ‘पादको आवाज त भाँडा बजाएर छल्यौ, तर गन्धचाहिँ कसरी लुकाउँछ्यौ
बुहारी ?’
त्यसपछि मुन्टो निहुराएर बुहारी भान्छाबाट फुत्त बाहिर निस्किन् । ससुरा, जेठाजु र श्रीमानले खाना खाएर चुठिनसक्दै हल्ला भयो- ए, नयाँ बुहारीले त पासो लगाएर आत्महत्या गरिन् ।
जंगबहादुरले बनाएको मुलुकी ऐनमा व्यवस्था गरिएको थियो- ‘पाध्न्याको महल ।’ कसका अगाडि-पछाडि पाध्यो भने कस्तो दण्ड सजाय हुन्छ ? त्यसमा विस्तृत व्यवस्था गरिएको छ । तर मुलुकी ऐनको आधुनिकीकरणका नाममा त्यो व्यवस्था हटाइयो । नयाँ घटना महिला आन्दोलनको आँगनमा विस्कुनको रूपमा छरिन आइपुगेको छ ।
अब भन्नुस्, शोभा, शर्मिला, दुर्गा, बबिता, सलोनी, दुर्गा, सपनाहरू नेपाली महिलाहरूले भोग्नुपरेको यो अप्ठ्यारो कसरी हटाउने ?
स्वाभाविक शारीरिक कुरा हो- पाध्नु । तर सामाजिक सम्बन्ध, स्थान, हैसियतलाई कसरी व्यवस्थित गर्ने ? यसलाई व्यवस्थित गर्ने कार्यक्रम महिला सञ्जालसँग छ ? छ भने के होला ?
साभार : ईकान्तिपुर बाट कृष्ण मुरारि भण्डारी
Like this:
Be the first to like this post.